स्थानीय तहमा १४ हजार ४०२ महिला जनप्रतिनिधि

0
318

ललितपुर/ स्थानीय तहमा देशभरका १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ५५ हजार ६ सय ९९ जना महिला उम्मेदवारहरु थिए । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार सो संख्यामा महिला निर्वाचित भएको देखिएको हो ।

तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुन सफल भए । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित भए । राजवंशी नेपाली काँग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार थिए ।

सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भए । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुन सफल भए । दुवैजना काँग्रेसबाट उम्मेदवारी दिएका थिए ।

त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भए। सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुन सफल भए ।

प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित भए । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित भए । सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित भए।

यसैबीच गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित हुन सफल भए ।

आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित भए।

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भए । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भइन् । त्यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।

त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छिन् । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मिनादेवी कार्की निर्वाचित भइन्। खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भइन् । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन् ।

सोहीअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भइन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन् । त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।

त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित भइन् । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाई, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भइन् ।

त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भए । त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भइन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भइन् ।

सोहीअनुसार आयोगको हालसम्मको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here